
परिचय: सुन्तलाजात फलफूलमा लाग्ने खराने वा पाउडरी मिल्ड्यू रोग Oidium tingitaninum वा Acrosporium tingitaninum नामक रोगकारक ढुसीका कारण लाग्दछ। यो ढुसीजन्य रोगले विशेष गरी सुन्तला, कागती, जुनार, निबुवा आदी प्रमुख सुन्तलाजात बालीहरूका कलिला पात, मुना तथा फलहरूमा सेतो पाउडर जस्तो धुलो/तह बनाएर आक्रमण गर्दछ, जसले गर्दा बिरुवाको उचित वृद्धि विकास अवरुद्ध भई फल उत्पादनमा क्षति पुग्दछ। खराने रोग सुन्तलाजात फलफूलका बोटहरूमा विशेष गरी नर्सरीका कलिला बिरुवाहरू, भर्खरै बगैँचामा सारेका बिरुवाहरू तथा वयस्क बोटको नयाँ पालुवाहरूमा बढी आक्रामक रूपमा फैलिन्छ। उच्च आर्द्रता र न्यानो मौसम (वर्षायाम तथा वसन्त ऋतुको नयाँ पालुवा आउने समय) मा ढुसीका बीजाणुहरू (Spores) हावाको माध्यमबाट छिट्टै फैलन्छन्। यसको संक्रमणले बिरुवाको प्रकाश संश्लेषण प्रक्रियामा असर पारी वृद्धि विकास रोक्छ र उत्पादनमा ह्यस ल्याउँदछ।
लक्षणहरू
पात तथा मुनामा खराने धुलो: कलिला पात, मुना तथा डाँठको सतहमा सेतो वा खरानी रङ्गको पाउडर जस्तो ढुसीको तह बाक्लो गरी ढाकिन्छ।
पातहरू बटारिनु र झर्नु: संक्रमित कलिला पातहरू पहेंलो-खरानी रङ्गका भई माथितिर बटारिन्छन्, विकृत हुन्छन् र समय नपुग्दै झर्छन्।
हाँगाहरू सुक्दै जानु (डाई ब्याक): धेरै पातहरू झरेपछि हाँगाहरू मात्र नाङ्गो बाँकी रहन्छन् र बिस्तारै टुप्पाबाट सुक्दै तलतिर आउँछन्।
फलमा असर: रोगको प्रकोप बढी भएमा साना चिचिला तथा फलहरूमा पनि सेतो पाउडर देखिन्छ, फलको वृद्धि रोकिन्छ, फलहरू झर्छन् र बाँकी रहेका फलमा पछि कालो दाग वा खत बस्दछ।
व्यवस्थापन
यो रोग व्यवस्थापन विधिहरु एकीकृत रुपमा अपनाएर रोग ब्यवस्थापन प्रभावकारी रूपमा गर्न सकिन्छ:
बचावट:
स्वस्थ बिरुवाको प्रयोग: नर्सरीबाट बिरुवा छनोट गर्दा रोगमुक्त स्वस्थ बिरुवा मात्र रोप्ने।
उचित दूरीमा रोपण, प्रकाश र हावाको संचार: बगैँचामा बोटहरू बीच सिफारिस गरिएको पर्याप्त दूरी कायम गर्ने, जसले गर्दा बोटमा पर्याप्त घाम र हावा खेल्न सकोस्।
काँटछाँट र सरसफाइ: हिउँदको समयमा सुकेका, रोगी तथा अनावश्यक बाक्ला हाँगाहरूको काँटछाँट (Pruning) गरी बोटलाई सफा राख्ने।
अन्तरबालीको छनोट: बगैँचाभित्र हावा तथा प्रकाश छेक्ने अग्ला बालीहरू (जस्तै: मकै) वा रोग फैलाउन सहयोग गर्ने लहरे झारपात/बालीहरू नलगाउने।
सन्तुलित मलखाद: अत्यधिक नाइट्रोजनयुक्त मलको प्रयोग नगर्ने, किनकि यसले बढी कलिला र कमजोर मुनाहरू उत्पादन गर्छ जसमा रोग छिट्टै लाग्दछ।
संक्रमित भागहरुको काँटछाँट: रोगको प्रारम्भिक अवस्थामा संक्रमित पात वा हाँगाहरू काँटछाँट गरि जम्मा गरेर नष्ट गर्ने (जलाउने वा माटोमा गाड्ने)।
रोगको अनुगमन: विशेष गरी वसन्त ऋतुको पालुवा पलाउने समय तथा वर्षायाममा हप्ताको एक पटक नर्सरी र बगैँचाको नियमित अवलोकन गर्ने। कलिला पात, मुना र साना फलहरूमा सेतो खराने धुलो देखिएको छ वा छैन जाँच्ने। यदि बगैँचामा नमूना लिइएका हाँगाहरूमध्ये ५% भन्दा बढी हाँगाहरूमा रोगको लक्षण देखिएमा तुरुन्त नियन्त्रणका उपायहरू अपनाउनुपर्छ।
रोग नियन्त्रणका लागि: हिउँदमा बगैँचा सफा गरेपछि १% को र वसन्त ऋतुमा नयाँ पालुवा आएपछि ०.५% को बोर्डोमिश्रण (Bordeaux mixture) छर्कनाले रोगको रोकथाम गर्न सकिन्छ।
ढुसीनाशक विषादीको प्रयोग: रोगको प्रकोप देखिएमा तलका मध्ये कुनै एक ढुसीनाशक विषादीको प्रयोग आलोपालो गरि गर्ने:
सल्फर/गन्धकयुक्त विषादी (e. g. Sulphur 80% WP): [FRAC Group: M02] २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कने (अथवा मसिनो गन्धकको धुलो प्रति रोपनी १ के.जी. का दरले डस्टिङ गर्ने)। आवश्यकता अनुसार १०-१५ दिनको अन्तरालमा पुनः दोहोर्याउने (अधिकतम २-३ पटकसम्म)।
डिनोक्याप (e. g. Dinocap 48% EC वा क्याराथियन): [FRAC Group: 29] १ देखि २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्कने (१०-१५ दिनपछि दोहोर्याउन सकिने)।
थायोफेनेट मिथाइल (e. g. Thiophanate-methyl 50% WP/70% WP): [FRAC Group: 1] १.५ देखि २ ग्राम प्रति लिटर पानीमा मिसाएर पातको दुवै सतह भिज्ने गरी छर्कने।वा कार्बेन्डाजिम (e. g. Carbendazim 50% WP): [FRAC Group: 1] २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कने।
सावधानी: रासायनिक विषादी प्रयोग गर्दा पन्जा, मास्क जस्ता व्यक्तिगत सुरक्षात्मक सामग्री (PPE) अनिवार्य लगाउनुहोस् र फल टिप्ने समय (PHI - Pre-Harvest Interval) को विशेष ध्यान दिनुहोस्।
लेखक डा. देवराज अधिकारी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, नवलपरासी (ब. सु. पूर्व) मा बरिष्ठ कृषि अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।
