logoशुक्रबार, २६ भाद्र २०८३

खाद्य प्रविधि विभागको वार्षिक प्रगति सार्वजनिक

१२ हजार ८०६ पटक अनुगमन, २७ हजारभन्दा बढी नमुनाको प्रयोगशाला परीक्षण'

Author
Loading...
समाचार

0

Shares

खाद्य प्रविधि विभागको वार्षिक प्रगति सार्वजनिक

काठमाडौं, साउन २३  ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा खाद्य स्वच्छता तथा गुणस्तर नियमन, खाद्य उद्योग तथा बजार अनुगमन, प्रयोगशाला परीक्षण, खाद्य पदार्थको आयात–निर्यात सहजीकरण तथा उपभोक्ता सचेतनाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

विभाग तथा मातहतका कार्यालयहरूले खाद्य तथा दाना उद्योग, होटल तथा रेस्टुरेन्ट, राजमार्गका होटल लगायत खाद्य व्यवसायविरुद्ध प्राप्त उजुरी तथा गुनासो सम्बोधनका क्रममा आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ८०६ पटक निरीक्षण तथा अनुगमन  गरिएको विभागका प्रवक्ता वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिनुभयो। 

यस अवधिमा खाद्य पदार्थ तथा दानाका ३ हजार ३६५ नमुना संकलन गरिएकोमा २ हजार ९४८ नमुनाको विश्लेषण तथा परीक्षण गरिएको थियो। परीक्षण गरिएका नमुनामध्ये १२७ वटा अर्थात् ४.३० प्रतिशत नमुना प्रतिकूल पाइएको विभागले जनाएको छ।

प्रतिकूल पाइएका नमुनामध्ये खाद्यान्न तथा दलहनका ४७, तेल तथा घ्यूजन्य पदार्थका ९, प्रशोधित पिउने पानीका २१, मसलाका ७, दूध तथा दुग्ध पदार्थका १७, फलफूल तथा सागपातजन्य पदार्थका १०, चिया तथा कफीका १, गुलियो पदार्थका २, कन्फेक्सनरीका ३ र दाना पदार्थका १० नमुना रहेका छन्।

१४२ खाद्य तथा दाना व्यवसायीविरुद्ध मुद्दा
न्यूनस्तर तथा दूषित खाद्य तथा दाना पदार्थ उत्पादन तथा बिक्री–वितरण गरेको कसुरमा विभागले १४२ वटा खाद्य तथा दाना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
दायर गरिएका मुद्दामध्ये ७३ वटा न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ३२ वटा दूषित खाद्य पदार्थ, १२ वटा ऐन, नियम तथा निर्देशिका उल्लङ्घनसम्बन्धी र २५ वटा लेबलसम्बन्धी रहेका छन्।
यसै अवधिमा खाद्य स्वच्छता निगरानीका लागि ४ हजार ३९१ वटा नमुना संकलन गरिएको विभागले जनाएको छ।

८६ लाखभन्दा बढी मूल्यका खाद्य पदार्थ जफत तथा नष्ट
अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका तथा खाद्य अनुमतिपत्र नलिएका रु. ८६ लाख ३१ हजार ६०१ बराबरका खाद्य पदार्थ जफत तथा नष्ट गरिएको छ।

त्यसैगरी, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ बमोजिम पफ, क्रोसान्ट, धुलो मिश्रित मसला, प्रशोधित पिउने पानी, फलफूलको पेय पदार्थ, मिश्रित फलफूलको पेय पदार्थ, चिया, चाउचाउ, बिस्कुट, आइसक्रिम, मह, तोरीको तेललगायत विभिन्न खाद्य पदार्थमा २९ पटक खाद्य पदार्थ फिर्ता आदेश जारी गरिएको थियो।
२७ हजार ४९७ नमुनाको प्रयोगशाला परीक्षण
विभागको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला तथा मातहतका खाद्य प्रयोगशालाहरूबाट आर्थिक वर्ष २०८२/८३ मा ऐन तथा नियम कार्यान्वयनका क्रममा संकलित नमुना, खाद्य स्वच्छता निगरानीका लागि संकलित नमुना, खाद्य उद्योग अनुमतिपत्रका लागि संकलित नमुना तथा सेवाग्राहीको अनुरोधमा प्राप्त नमुनासहित २७ हजार ४९७ नमुनाको प्रयोगशाला परीक्षण गरिएको छ।

राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले ६७२ वटा रासायनिक मापदण्ड र १४२ वटा सूक्ष्मजीवसम्बन्धी मापदण्ड गरी कुल ८१४ वटा मापदण्ड परीक्षणका लागि भारतको राष्ट्रिय परीक्षण तथा प्रयोगशाला प्रत्यायन बोर्डबाट आईएसओ/आईईसी १७०२५:२०१७ को प्रत्यायन प्रमाणपत्र सन् २०२७ मार्च ३० सम्मका लागि नवीकरण गर्न सफल भएको विभागले जनाएको छ।

प्रयोगशालामा प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याइएकाले सेवा प्रवाहमा प्रभावकारिता तथा सहजीकरण भएको विभागले जनाएको छ।

७४ हजारभन्दा बढी फलफूल तथा तरकारीमा विषादी अवशेष परीक्षण
विभाग तथा मातहतका कार्यालयहरूले आन्तरिक बजार तथा नेपालमा आयात हुने प्रवेश बिन्दुबाट संकलित ७४ हजार ९४ वटा ताजा तरकारी तथा फलफूलका नमुना द्रुत परीक्षण विधिबाट विषादी अवशेष परीक्षण गरेका थिए। तीमध्ये २९ वटा नमुना प्रतिकूल पाइएको थियो।
प्रतिकूल पाइएका नमुनामा आलु, आँप, स्याउ, सुन्तला, सिमी, हरियो केराउ, अम्बा, बयर, बन्दा, भेंडे खुर्सानी, कागती, फर्सी, गाजर, हरियो खुर्सानी र ताजा नरिवल रहेका थिए।

त्यसैगरी, ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोमेट्री-मास स्पेक्ट्रोमेट्रीबाट ७५ वटा विभिन्न प्रकारका तरकारी तथा फलफूल र ५० वटा चामलका नमुना परीक्षण गरिएको थियो। केही नमुनामा क्लोरपाइरिफस र म्यालाथियन नामक विषादी भेटिए पनि ती विषादीको मात्रा तोकिएको मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।

तरल क्रोमाटोग्राफी मास स्पेक्ट्रोमेट्री-मास स्पेक्ट्रोमेट्रीबाट परीक्षण गरिएका १४ वटा तरकारी तथा फलफूलका नमुनामा समेत विषादीको मात्रा तोकिएको मापदण्डअनुकूल पाइएको थियो।

१८ हजार ९४० खाद्य पदार्थको आयात स्वीकृति
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थ आयात गर्नुअघि अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ९४० वटा खाद्य पदार्थको कन्साइन्मेन्टलाई आयात स्वीकृति प्रदान गरिएको थियो।

आवश्यक कागजात पूरा नभएका ४२६ वटा कन्साइन्मेन्टको अनुमति अस्वीकृत गरिएको विभागले जनाएको छ। खाद्य पदार्थ आयात गर्नुअघि स्वीकृति दिने कार्य नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन प्रविधिबाट भइरहेको छ।

विभिन्न १२ वटा नाकास्थित खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा प्राप्त ६३ हजार १८५ नमुनाको परीक्षण गरिएकोमा २९ वटा नमुना प्रतिकूल पाइएको थियो। ती नमुना आयात गर्न नमिल्ने जानकारी सम्बन्धित भन्सार कार्यालयलाई गराइएको विभागले जनाएको छ।
खाद्य पदार्थको निर्यातमा सहजीकरण
भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले सन् २०२५ अप्रिल ४ मा विभिन्न आठ प्रकारका निर्यातजन्य खाद्य पदार्थका लागि विभागको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई मान्यता दिएको छ।

निर्यात प्रवर्द्धनका लागि विभागले १२६ वटा खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्र तथा स्वास्थ्य प्रमाणपत्र जारी गरेको छ। तीमध्ये ११८ वटा मानव उपभोगका लागि योग्यताको प्रमाणपत्र र ८ वटा दाना गुणस्तर प्रमाणपत्र रहेका छन्।

निर्यात प्रयोजनका लागि प्राप्त ५०६ वटा नमुना परीक्षण गरिएको थियो। छुर्पी, फलफूलको पेय पदार्थ, दालचिनी, मासुको सुकुटी, चिज बल्स, चिज स्टिक्स, आहारपूरक खाद्य पदार्थ, चिउरा, फ्रेन्च फ्राइज, ताजा तथा सुकाइएको अदुवा, चिया, कफीलगायत विभिन्न खाद्य पदार्थका नमुना परीक्षण गरिएको विभागले जनाएको छ।

४२९ होटल तथा रेस्टुरेन्टको स्तरीकरण
विभागले आर्थिक वर्ष २०८२/८३ मा ४२९ वटा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरी लोगो वितरण गरेको छ। तीमध्ये ८५ वटा अति उत्तम, १०२ वटा उत्तम, १४१ वटा सन्तोषजनक र ७४ वटा सामान्य समूहमा स्तरीकरण भएका थिए भने २७ वटा स्तरीकरणमा पर्न सकेनन्।

खाद्य स्वच्छता तथा पोषणसम्बन्धी सचेतना विस्तार
विभाग तथा मातहतका कार्यालयहरूले खाद्य स्वच्छता, गुणस्तर तथा पोषणसम्बन्धी जनचेतना विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। यस अवधिमा विद्यालय लक्षित १०६ पटक खाद्य स्वच्छता, गुणस्तर तथा पोषण सचेतना कार्यक्रम, ४८ पटक खाद्य प्रशोधन प्रविधि तालिम तथा सरोकारवालासँग ४९ पटक खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।

त्यसैगरी, स्थानीय तहसँगको सहकार्यमा सडकमा बिक्री हुने खाद्य पदार्थको स्वच्छता, खाद्य पदार्थमा रंगको प्रयोग तथा खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने कागजको प्रयोगसम्बन्धी ८४ पटक सचेतना कार्यक्रम, प्रतिजैविक प्रतिरोधसम्बन्धी ८ पटक सचेतना कार्यक्रम तथा होमस्टे, होटल, रेस्टुरेन्ट र क्यान्टिन सञ्चालकका लागि ५२ पटक खाद्य स्वच्छतासम्बन्धी तालिम सञ्चालन गरिएको विभागले जनाएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सूचना आम उपभोक्तासम्म पुर्‍याउन सञ्चारमाध्यम तथा पत्रकारहरूले पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि खाद्य स्वच्छता तथा सुरक्षित खाद्य उपभोगसम्बन्धी जनचेतना अभिवृद्धिमा सहकार्यको अपेक्षा रहेको जनाएको छ।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave