
काठमाडौं, साउन ७। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाणिज्य विभाग तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंसहितको संयुक्त टोलीमार्फत साउन ५ गते काठमाडौंस्थित किसु चमेना गृह मा अनुगमन तथा निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही गरेको छ।
विभागका अनुसार अनुगमनका क्रममा व्यवसायमा खाद्य स्वच्छता व्यवस्थापनसम्बन्धी विभिन्न कमजोरीहरू फेला परेका छन्। निरीक्षणका क्रममा कीट नियन्त्रणको व्यवस्था पर्याप्त नभएको, फोहोरदानी खुला अवस्थामा राखिएको, भान्सामा झ्याल बन्द नगरी खाद्य पदार्थ तयार गरिएको, खाद्य पदार्थको भण्डारण व्यवस्थित नभएको तथा एक्जस्ट फ्यान (Exhaust Fan) को व्यवस्था पर्याप्त नरहेको पाइएको छ। यद्यपि, समग्र सरसफाइको अवस्था भने सन्तोषजनक रहेको विभागले जनाएको छ।
अनुगमनका क्रममा व्यवसायले खरिद बिल नराखेको पाइएकाले विभाग ले रु. २० हजार जरिवाना गरेको छ।
त्यसैगरी, व्यवसायलाई नियमित रूपमा सरसफाइ कायम गर्न तथा निरीक्षणका क्रममा देखिएका सबै कैफियत सुधार गरी पाँच दिनभित्र प्रमाणसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। साथै, खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी मापदण्डको पूर्ण पालना गर्न विभागले आग्रह गरेको छ।
