
काठमाडौं, असार २४ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले परिषद्का विभिन्न अनुसन्धान केन्द्र तथा कार्यालयमा खटिने नवनियुक्त वैज्ञानिकहरूलाई लक्षित गरी अभिमुखीकरण तालिम बिहीबारदेखि खुमलटारमा सुरु गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री गीता कुमारी चौधरीले कृषि क्षेत्रको रूपान्तरणको आधार कृषि अनुसन्धान भएकाले यस क्षेत्रमा प्रवेश गरेका वैज्ञानिकहरूले किसानका समस्या समाधान गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।
उहाँले खाद्य सुरक्षाको आधारसमेत कृषि अनुसन्धान नै भएकाले अनुसन्धानका उपलब्धिहरू किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सफल भएमा मात्र त्यसको वास्तविक प्रभाव देखिने उल्लेख गर्नुभयो। नवनियुक्त वैज्ञानिकहरूको आगमनले कृषि क्षेत्रका राष्ट्रिय समस्याको समाधान खोज्न थप ऊर्जा र क्षमता प्राप्त हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
मन्त्री चौधरीले कृषि शिक्षा, अनुसन्धान र कृषि प्रसारबीच प्रभावकारी समन्वय कायम गर्न मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिँदै नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना तथा परिषद् ऐनलाई समयानुकूल संशोधन गर्ने कार्यसमेत अघि बढाइएको बताउनुभयो।
कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले नवनियुक्त वैज्ञानिकहरूलाई परिषद्को कार्यप्रणाली, अनुसन्धान प्रणाली तथा अनुसन्धान पद्धतिबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार विभिन्न अनुसन्धान केन्द्र तथा कार्यालयमा खटिने वैज्ञानिकहरूलाई अनुसन्धान टोली गठन गरी स्पष्ट कार्यादेश प्रदान गरिनेछ। प्रारम्भिक चरणमा ती टोलीहरूले स्थानीय तह तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग समन्वय गरी परिषद्ले विकास गरेका कृषि प्रविधिको परीक्षण, विस्तार तथा प्रवर्द्धनमा योगदान पुर्याउनेछन्।
डा. श्रेष्ठले अनुसन्धानकर्ताहरू किसानसँग प्रत्यक्ष सम्पर्कमा रही कार्य गर्दा किसानका वास्तविक समस्या पहिचान गर्न सहज हुने तथा उपलब्ध प्रविधिको प्रभावकारिता अध्ययन गरी त्यसको प्रभावकारी प्रसार गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले स्थानीय सरकार, सरोकारवाला निकाय तथा कृषक समुदायसँगको सहकार्यमा अनुसन्धान परियोजना सञ्चालन गर्न वैज्ञानिकहरूलाई प्रोत्साहन गरिने जानकारी दिँदै यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको उल्लेख गर्नुभयो।
स्थानीय प्रविधि, कृषकको अनुभव र वैज्ञानिक ज्ञानको संयोजनबाट नवीन तथा उपयोगी प्रविधि विकास गर्ने परियोजनालाई प्राथमिकता दिइने उहाँको भनाइ थियो।
परिषद्का अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. सुधा सापकोटाले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा परिषद्का योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेल, पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. निना गोर्खाली, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्ट, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय लगायत परिषद्का पदाधिकारी तथा नवनियुक्त वैज्ञानिकहरूको सहभागिता रहेको थियो।
