
काठमाडौं, असार २२ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीमार्फत काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रा. लि. मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन तथा निरीक्षण गरी आवश्यक कारबाही गरेको छ।
विभागका अनुसार शुक्रबार निरीक्षणका क्रममा रेस्टुरेन्टको सरसफाइ अवस्था सामान्य रहेको र प्रयोग भइरहेको फ्राइङ तेलको TPM (Total Polar Materials) परीक्षण गर्दा २२.० प्रतिशत रहेको, तर खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी अन्य गम्भीर कैफियतहरू फेला परेका छन्।
अनुगमनका क्रममा म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग भइरहेको, पिज्जा बेसमा प्रयोग गरिने तेलमा मरेको साङ्ला भेटिएको तथा फ्रिजभित्र खाद्य पदार्थको भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।
निरीक्षणका क्रममा म्याद नाघेको तथा पूर्ण लेबल विवरण नभएको दुई बोतल स्क्वास तत्काल नष्ट गरिएको छ। साथै, व्यवसायलाई निरीक्षणका क्रममा फेला परेका सबै कैफियतहरू सुधार गरी तीन दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
खाद्य स्वच्छता तथा उपभोक्ता हितविपरीत कार्य गरेको ठहर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त व्यवसायलाई रु २ लाख १ हजार जरिवाना गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य संरक्षण, सुरक्षित खाद्य उपभोग सुनिश्चित गर्न तथा खाद्य व्यवसायहरूलाई कानुनी मापदण्डको पालना गराउन यस्ता अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिने जनाएको छ।
