
काठमाडौं, जेठ १७ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीत गुणस्तर पाइएको तेज ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ।
विभागले २०८३ जेठ १२ गते प्रकाशित सूचनाको अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमूनाको प्रयोगशाला परीक्षण गर्दा "तेज" ब्रान्डको तोरी तेल (आयातित तोरी गेडाबाट उत्पादित) नेपाल सरकारले तोकेको खाद्य मापदण्डअनुसार नपाइएको जनाएको छ।
विभागका अनुसार उक्त उत्पादनको ब्याच नम्बर २० रहेको छ। यसको उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना रहेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न तथा दफा ३८(४) अनुसार बिक्री–वितरण नगर्न/नगराउन निर्देशन दिइएको विभागले जनाएको छ।
उक्त तेल सिद्धार्थ आयल इन्डस्ट्रिज, गुरबानिया, रुपन्देही द्वारा उत्पादन गरिएको हो।
विभागले उपभोक्ता, विक्रेता तथा वितरकहरूलाई सो ब्याच नम्बरको तेल खरिद, बिक्री वा वितरण नगर्न तथा सम्बन्धित उत्पादकलाई फिर्ता प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।
