
सुन्तलाजात फलफूलको सिट्रस क्याङ्कर एक ब्याक्टेरियाजन्य रोग हो। यस रोगका कारण पात, डाँठ र फलमा खैरो पहेंलो रङका दागहरू देखा पर्छन्। विशेषगरी फलमा दाग लागेपछि फलको गुणस्तर तथा बजार मूल्यमा कमी आउँछ। यो रोग वर्षायाम सुरु हुनुअघि देखि नै देखिन थाल्छ र वर्षाको समयमा अत्यधिक रूपमा फैलिन्छ। रोगको प्रसार मुख्यतः घाउ वा चोटपटक भएको भागबाट हुन्छ। पातमा सुरुङ बनाउने/खन्ने लिफ माइनर कीराले प्रत्यक्ष रूपमा रोग नसारे पनि, कीराको अत्यधिक प्रकोप हुँदा तिनले बनाएको घाउबाट रोगकारक जीवाणु सजिलै प्रवेश गर्न सक्छ। त्यसैगरी हावा, पानी तथा खेतीपातीका अन्य क्रियाकलापबाट पनि रोग फैलिन सहयोग पुग्छ। काँटछाँट गर्ने औजारहरू सफा नगरी प्रयोग गर्दा पनि रोग एक बोटबाट अर्को बोटमा सर्न सक्छ। त्यसैले रोग व्यवस्थापनका लागि स्वस्थ बिरुवा प्रयोग गर्ने, खेतबारीमा सरसफाई कायम राख्ने, संक्रमित भाग हटाउने, लिफ माइनर (पातमा खन्ने/लेख्ने कीरा) कीराको उचित व्यवस्थापन गर्ने तथा औजारहरूलाई प्रयोग अघि र पछि निसंक्रमण गर्ने उपायहरू अपनाउन आवश्यक हुन्छ।
गुणस्तरीय कागती फल उत्पादनका लागि बैशाख, जेठ र असार महिनामा फलको वृद्धि विकासको अवस्थालाई ध्यानमा राखी शत्रु कीरा तथा रोग व्यवस्थापन योजना अपनाउन आवश्यक हुन्छ।
सिट्रस क्याङ्कर रोगको समयमै उचित व्यवस्थापनले उत्पादन तथा गुणस्तर जोगाउन मद्दत गर्दछ।
पात खन्ने कीरा: सुन्तलाजात फलफूलको पात खन्ने कीरा एक महत्वपूर्ण हानिकारक कीरा हो। यो मुख्यतः पुतली वर्गमा पर्ने कीराको लार्भा अवस्थाले क्षति पुर्याउँछ। विशेषगरी नर्सरीका कलिला बिरुवा तथा वयस्क बोटका नयाँ पालुवामा यसको प्रकोप बढी देखिन्छ। कीराले पातभित्र सुरुङ बनाएर खाने भएकाले यसलाई “पात खन्ने वा लेख्ने कीरा” भनिन्छ। यसको प्रकोप बढी भएमा बिरुवाको वृद्धि कमजोर हुने, प्रकाश संश्लेषण प्रक्रिया प्रभावित हुने तथा उत्पादन र गुणस्तरमा कमी आउने समस्या देखिन्छ। यो कीराले मुख्य रूपमा पातको भित्री भाग खाएर सुरुङ जस्तो बाङ्गाटिङ्गा धर्का बनाउँछ।कीरा संक्रमित पातमा सेतो वा हल्का खैरो रङको घुमाउरो सुरुङ स्पष्ट देखिन्छ। कीराको प्रकोप बढ्दै जाँदा पात खुम्चिने, पहेँलिने तथा सुक्दै झर्ने हुन्छ।कलिला बिरुवा कमजोर भई वृद्धि रोकिन सक्छ। अत्यधिक प्रकोप हुँदा बिरुवाको प्रकाश संश्लेषण क्षमता घटेर उत्पादनमा प्रत्यक्ष असर पर्छ। नर्सरी अवस्थाका र भर्खरै रोपिएका बिरुवाहरुमा आक्रमण भएमा बिरुवा नै नष्ट हुने सम्भावना रहन्छ।
पात खन्ने कीराको व्यवस्थापन: कीराले क्षति गरेका पात तथा संक्रमित भागहरू संकलन गरी खेतबारी बाहिर लगेर नष्ट गर्नुपर्छ। यसले कीराको संख्या घटाउन मद्दत गर्दछ। खेतबारी सफा राख्ने, झारपात हटाउने तथा बगैचाको राम्रो व्यवस्थापन गर्ने अभ्यास अपनाउनुपर्छ। पात खन्ने कीरा (leaf miner) को व्यवस्थापनका लागि वागवानी/खनिज तेल र एजाडिराक्टिन (निम जन्य बिषादी), वा इमामेक्टिन बेन्जोएट, वा कार्टाप हाइड्रोक्लोराइड वा क्लोरएण्टानिलिप्रोल वा साइरोमाजिन जस्ता विषादी आलोपालो गरि सिफारिस मात्रामा प्रयोग गर्नुपर्दछ। विषादी प्रयोग गर्दा बिरुवाको अवस्था, विशेषगरी नयाँ पालुवा लागेको समयलाई ध्यानमा राखी मात्रा निर्धारण गर्नुपर्छ। अत्यधिक मात्रा प्रयोग गर्दा बिरुवामा विषादीको असर पर्न सक्छ। विषादी छर्दा बिहान शीत ओभाइसकेपश्चात् वा मध्य दिनको घाम पश्चात् साँझको समयमा छर्नु उपयुक्त हुन्छ। यसले विषादीको प्रभावकारिता बढाउँछ र बिरुवामा कम असर पर्छ। नियमित बगैचाको अनुगमन गरी शुरुवाती अवस्थामै कीराको पहिचान र व्यवस्थापन गर्न सकेमा क्षति कम गर्न सकिन्छ।
सिट्रस क्याङ्कर ब्यवस्थापन: सिट्रस क्याङ्कर रोगको प्रभावकारी व्यवस्थापनका लागि नियमित काँटछाँट गर्ने, रोगग्रस्त हाँगा तथा प्रभावित भाग हटाउने र बोर्डो मिश्रणको प्रयोग गर्ने कार्य अत्यन्त आवश्यक हुन्छ। कपर सल्फेट (निलोतुथो) र चुन प्रयोग गरी तयार गरिने बोर्डो मिश्रण (हिउँद याम (पुस, माघ) महिना बोटको शुशुप्त अवस्थामा १% र अन्य समयमा ०.५%) कपर अक्सिक्लोराइड (COC), र कासुगामाइसिन, वा थायडियाजोलकपर जस्ता विषादीहरूको आलोपालो गरि सिफारिस मात्रामा प्रयोगले रोग नियन्त्रणमा सहयोग पुर्याउँछ। यसका साथै स्ट्रेप्टोमाइसिन सल्फेट+टेट्रासाइक्लिन हाइड्रोक्लोराइड १ ग्रामलाई ३ देखि ५ लिटर पानीमा मिसाई छर्न सिफारिस गरेको पाइन्छ। नयाँ बगैचा स्थापना गर्दा सिट्रस क्याङ्कर रोग नलागेको स्वस्थ बिरुवा मात्र रोपण गर्नुपर्छ। स्वस्थ बिरुवा उचित दूरीमा रोप्नाले रोगको सुरुवाती संक्रमण कम हुन्छ र खेतमा रोग फैलिने सम्भावना घट्छ। नर्सरी अवस्थादेखि नै रोगरहित बिरुवा छनोट गर्न विशेष ध्यान दिनुपर्छ। बगैचामा रोग व्यवस्थापन गर्दा बारीमा सरसफाई कायम राख्ने, तथा काँटछाँट गर्ने औजारहरूलाई निसंक्रमण गरेर मात्र प्रयोग गर्ने अभ्यास अपनाउनुपर्छ। यसले रोगको पुनःसंक्रमण तथा फैलावटलाई न्यून गर्न सहयोग पुर्याउँछ।
रसायनिक बिषादी प्रयोग गर्दा सुरक्षित पहिरन र पर्खाई अबधिको ख्याल गरौं।
लेखक डा. देवराज अधिकारी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, नवलपरासी (ब. सु. पूर्व) मा बरिष्ठ कृषि अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ।
