
मौरीपालकहरुले गोला विभाजन गरेर एउटै गोलाबाट धेरै गोलाहरु बनाउन सक्छन् । एक गोला मौरीबाट दुई वा दुईभन्दा बढी मौरीगोलाहरु उत्पादन गर्नु गोला विभाजन हो । यसरी वृद्धि गरेको मौरीगोला थप आयआर्जन गर्नको लागि विक्री गर्न सक्छन् वा आफ्नै मौरी खर्कमा राखेर मह उत्पादन वृद्धि गर्न पनि सक्छन् । मौरीपालकले आफ्नो लक्ष बमोजिम गोला सङ्ख्या बढाउन गोला विभाजन गर्न सक्छन् । तर, महको प्रवाह भएको मौसममा गोला विभाजन गर्दा महको उत्पादन कम हुने हुनाले गोला वृद्धि गर्ने कि मह उत्पादन गर्ने भन्ने बारेमा सोच्नु जरुरी हुन्छ ।
खासगरी हुल निर्यास नियन्त्रण गर्नका साथै गोला वृद्धि गरी व्यावसायिकता तर्फ उन्मुख हुन गोला विभाजन गर्न सकिन्छ । साधारणतया गोला विभाजन गर्ने उपयुक्त समय मह प्रवाहको समय हो । मौसम र स्थान अनुसार वर्षको दुई पटक गोला विभाजन गर्न सकिन्छ । जस्तो तराई र मध्य पहाडमा एक पटक फागुनको पहिलो हप्तादेखि बैषाख अन्तिमसम्म र अर्को पटक आश्विनको अन्तिम हप्तादेखि मंसिरको दोस्रो हप्तासम्म । व्यावसायिक मौरीपालकहरुले ग्राफ्टिङ् प्रविधिको प्रयोग गरि कृत्रिम तवरवाट रानु उत्पादन गरी आवश्यक गोला उत्पादन गर्न सक्छन् ।
गोला विभाजन भनेको मौरीको वंशवृद्धि गर्नु हो । मौरीगोलामा प्रशस्त मात्रामा खाना भएको, गोलामा भाले मौरीको उपस्थिति रहेको, रानु कोष भएको अवस्थामा घमाइलो वा न्यानो दिनको दिउँसो गोला विभाजन गर्नुपर्दछ भने पानी परेको वा चिसो भएको समयमा गोला विभाजन गर्नुहुँदैन । गोला विभाजन पूर्व मौरीपालकले रानु मौरीको सुनिश्चितता अनिवार्य गर्नु पर्दछ । मौरीको गोला विभाजन २ विधिवाट गर्न सकिन्छः
१. प्राकृतिक विभाजन विधिः
हुल निर्यास हुने मौसममा मौरी गोलामा धेरै रानु कोषहरू हुन्छन् । हुल निर्यासलाई नियन्त्रण गर्न सो रानु कोषलाई उपयोग गरेर हुल निर्यास हुनु अगावै गोला विभाजन गर्न सकिन्छ । यो विधिबाट गोला विभाजन गर्दा हुल निर्यास नियन्त्रण हुन्छ तर मौरीको वंशसुधार (हुल निर्यास हुने गुण) भने हुदैन।
२. गुणस्तरीय रानु उत्पादन गरेर गोला विभाजनः
यो विधिमा मौरीपालकले माथि भनिएझैँ उत्कृष्ट माउ गोला छनोट गरी गुणस्तरीय रानु उत्पादन गरिन्छ र सो रानुवाट कम गुणस्तरको गोलाको रानुलाई प्रतिस्थापन गरेर गुणस्तरीय रानु सहितको गोला विभाजन गर्न सकिन्छ साथै यसरी उत्पादन गरिएको रानुलाई उपयोग गरेर एकै पटकमा एक गोला मौरीलाई एक भन्दा बढी न्युक्लियस गोला बनाउन सकिन्छ । यसरी गोला विभाजन गर्दा, प्रत्येक न्युक्लियस गोलामा कम्तीमा २ वटा छाउरा चाका र खाना सहितको २ वटा चाका दिनु जरुरी हुन्छ । यसरी तयार गरिएको गोला आवश्यक ठाउँमा तत्काल लैजान र बिक्री गर्न सकिन्छ ।
गोला विभाजन गर्दा समानान्तर विधिद्वारा चरणबद्ध रूपमा निम्न बमोजिम गोला विभाजन गर्न सकिन्छः
· सबैभन्दा उत्कृष्ट असल गुण भएको गोलालाई माउ गोला छनोट गर्ने ।
· माउगोलालाई यथास्थानबाट १ फिट बायाँपट्टि सार्ने ।
· रित्तो नयाँ घारलाई साबिकको माउगोला भएको स्थानबाट १ फिट दायाँपट्टि समानान्तर हुने गरी राख्ने र पुरानो स्थान खाली गर्ने ।
· माउगोलामा परिपक्व रानुकोष एक र ४/५ फ्रेम छाउरा र खाना सहितको चाका समेत राख्ने ।
· नयाँ घारमा पुरानो रानु र ४/५ फ्रेम छाउरा र खाना सहितको चाका राख्ने ।
· वयस्क मौरीहरू पनि दुवै घारमा बराबर विभाजन गर्ने ।
· कुट र मह भएका चाकाहरूलाई पनि बराबर दुवै घारमा राख्ने । अन्य रानु कोषहरू भएमा हटाइदिने ।
· यसरी घारमा भएका छाउरा, वयस्क र महका चाकाहरू विभाजन गरी सकेपछि रानु भएको घारमा आवश्यकता अनुसार आधारचाका प्रयोग गर्ने ।
· चरनबाट फर्केका मौरीहरू दुवै घारमा बराबरी प्रवेश गरे नगरेको ध्यान दिने।
· बराबरी प्रवेश नगरेमा धेरै मौरी प्रवेश गरेको घार एक फिट अझ पर सार्ने र कम प्रवेश गरेको घारलाई पुरानै ठाउँपट्टि नजिक सार्ने र बराबरी गर्ने।
· विभाजित गोलामा ३ दिन सम्म बेलुकीपख चिनी चास्नी खुवाउने र आवश्यकता अनुसार आधारचाका थप्दै गोला व्यवस्थापन गर्नुपर्दछ ।
· मौरीहरू आ─आफ्नै कार्य गर्न सुरु गरेपछि दैनिक साँझमा १/१ फिटका दरले घार सार्दै आफूले इच्छाएको स्थानमा राख्न सकिन्छ ।
गोला विभाजनका चरणहरु तल चित्रमा देखाइएको छः
लेखक सुजन अंगाई मौरीपालन विकास केन्द्र, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यारत हुनुहुन्छ ।
