
काठमाडौं, जेठ ३। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरामा उत्पादित नोभा ब्राण्डको आइसक्रिममा मानव स्वास्थ्यका लागि अनुपयुक्त जीवाणु फेला परेपछि उक्त उत्पादन बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ।
विभागले जेठ १ गते जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा “टोटल ब्याक्टेरिया काउन्ट”, “कोलिफर्म काउन्ट” र “इन्टेरोब्याक्टेरिएसी काउन्ट” ब्यापक रुपमा उपस्थित रहेको जनाएको छ।
सूचनामा उल्लेख भएअनुसार “आइसक्रिम (१००० मि.लि.)” नामक उत्पादनको ब्याच नं. C02 र ब्राण्ड “नोभा” रहेको छ। उत्पादन मिति २०८२/०४/१ तथा उपभोग मिति १२ महिना उल्लेख गरिएको उक्त उत्पादन मानव उपभोगका लागि उपयुक्त नरहेको विभागले जनाएको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) तथा दफा ४ बमोजिम उक्त खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता (Recall) गर्न तथा बिक्री वितरण नगर्न/नगराउन निर्देशन दिएको हो।
उक्त आइसक्रिम पोखरा औद्योगिक क्षेत्रस्थित “फिटेस्ट डेरी प्रा. लि., पोखरा” द्वारा उत्पादन गरिएको सूचनामा उल्लेख छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई खाद्य पदार्थ खरिद गर्दा लेबल, उत्पादन मिति तथा गुणस्तरसम्बन्धी विवरणमा विशेष ध्यान दिन आग्रह गरेको छ।
