logoमंगलबार, १५ बैशाख २०८३

झापामा कृषिजन्य पानी व्यवस्थापन अन्तर्राष्ट्रिय तालिम सम्पन्न

Author
Loading...
समाचार

0

Shares

झापामा कृषिजन्य पानी व्यवस्थापन अन्तर्राष्ट्रिय तालिम सम्पन्न

झापा, बैशाख १३ । जलवायु परिवर्तन, बढ्दो पानी अभाव तथा खाद्य सुरक्षाका चुनौतीबीच कृषिजन्य पानी व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने उद्देश्यसहित झापामा आयोजित चारदिने तालिम सम्पन्न भएको छ।


कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर, चितवनको आयोजनामा (बैशाख ९) बुधबार देखि १२ गतेसम्म सञ्चालन भएको उक्त तालिम मेचीनगर–१४, दुहागढीस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एन.एम.सी.) एग्रो फार्ममा सम्पन्न भएको हो।

एड्लेड यूनिभर्सिटी, अष्ट्रेलियाको सहकार्य तथा क्रफोर्ड फण्ड इनिसिएटिभको सहयोगमा आयोजित कार्यक्रममा प्रा.डा. सन्तोष मरहट्टाले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने अनुसन्धान तथा प्रसार निर्देशक प्रा. डा. निराजन भट्टराईले कार्यक्रम संयोजन गर्नुभएको थियो।

 

तालिममा झापा, मोरङ् र सुनसरी जिल्लाका कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामा कार्यरत कृषि प्राविधिक/अधिकृतहरू, साथै नेपाल, भारत र बंगलादेशका विश्वविद्यालयहरूमा बाली, माटो विज्ञान तथा कृषि इन्जिनियरिङ विषय अध्यापन गर्ने प्राध्यापकहरू गरी २४ जनाको सहभागिता रहेको थियो। अन्तरदेशीय सहभागिताले ज्ञान, अनुभव र अभ्यासको आदान–प्रदानलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

 

वैश्विक सन्दर्भमा पानी व्यवस्थापनको आवश्यकता

विश्वव्यापी रूपमा कुल ताजा पानीको झण्डै ७० प्रतिशत हिस्सा कृषि क्षेत्रमा मात्र प्रयोग हुने गरेको छ । सन् २०५० सम्म विश्वको जनसंख्या करिब १० अर्ब पुग्ने अनुमान गरिँदा सीमित जलस्रोतका बीच खाद्य उत्पादन उल्लेखनीय रूपमा बढाउनुपर्ने चुनौती झनै जटिल बन्दै गएको छ । यस्तो अवस्थामा दिगो जल व्यवस्थापन, जल सुरक्षा र जलवायु अनुकूल कृषि प्रणाली विकास अपरिहार्य भएको तालिममा जोड दिइयो।

मुख्य विषयवस्तु र अभ्यासमुखी सिकाइ

तालिममा कृषिजन्य पानी व्यवस्थापनका सैद्धान्तिक तथा व्यवहारिक पक्षहरू समेटिएका थिए। दिगो जल व्यवस्थापनका आधुनिक विधिहरू (प्रेसिजन कृषि, जी आइ एस), पानी उपयोग दक्षता बढाउने उपकरण तथा प्रविधिहरू, वर्षा पानी संकलन, सिंचाइ योजना तथा समय तालिका निर्माण, तथा पानी व्यवस्थापनका आधारभूत गणनात्मक विधिहरूमा विशेष जोड दिइएको थियो।

त्यसैगरी जल सुरक्षा, जलवायु परिवर्तनसँग अनुकूलन, तथा दिगो जल व्यवस्थापनका आर्थिक प्रभाव (लागत–लाभ विश्लेषण) सम्बन्धी विषयहरूमा पनि सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।

सहभागीहरूले अर्थमितीय तथा तथ्याङ्कीय उपकरणहरूको प्रयोगमार्फत जल व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रिया कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा समेत ज्ञान आर्जन गरेका थिए।


विश्वव्यापी नीति र रणनीतिसँग जोड

तालिममा विश्वव्यापी नीति एजेण्डाहरू—जस्तै संयुक्त राष्ट्रसंघको जल तथा सरसफाइ रणनीति, तथा विश्व बैंकको हालै सार्वजनिक  नरिस एण्ड फ्लरिश प्रतिवेदनका सन्दर्भमा कृषि जल व्यवस्थापनका चुनौती र समाधानबारे विस्तृत छलफल गरिएको थियो ।

यी नीतिहरूले जल सुरक्षा सुदृढीकरण, जलवायु सहनशीलता वृद्धि, सिंचाइ प्रणाली आधुनिकीकरण, तथा जल उपयोग दक्षता अभिवृद्धिमा जोड दिएको उल्लेख गरिएको थियो। विशेषगरी, दक्षिण एशियाका लागि प्रणालीगत दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो ।


फिल्ड अभ्यास र प्रविधिमैत्री सिकाइ

तालिमको विशेष आकर्षणका रूपमा फिल्ड–आधारित अभ्यासहरू रहेका थिए, जसमा सहभागीहरूले सिंचाइ प्रणालीको कार्यसम्पादन मूल्याङ्कन, पानीको बहाव तथा स्तर मापन, थोपा सिंचाई प्रणालीको समानता परीक्षण, तथा सस्तो र स्थानीय रूपमा उपलब्ध उपकरण प्रयोग गरी पानी व्यवस्थापनका उपायहरू सिकेका थिए। यसले सहभागीहरूलाई व्यवहारिक सीप विकास गर्न तथा आफ्ना कार्यक्षेत्रमा प्रविधि हस्तान्तरण गर्न सक्षम बनाउने विश्वास गरिएको छ।


कार्यक्रमले पूर्वी तराई क्षेत्रमा कृषिजन्य जलस्रोतको दिगो उपयोग, सिँचाइ व्यवस्थापन सुधार तथा बहुविविध कृषि प्रणाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्। समापन समारोहमा बोल्दै विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक प्रा.डा. भट्टराईले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई विश्वविद्यालयले आगामी दिनहरूमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

0

Shares

सम्बन्धित खबर

No news available!

Follow Us:

FbInstaXYoutube

ताजा समाचार







Krishi_Sanjal logo

कृषि सञ्चारको संवाहक


सूचना तथा प्रसारण विभाग

दर्ता नं: ४२४६-२०८०/८१

+977-9855034935

info.krishisanjal@gmail.com

FbInstaXYoutube

Quick links

> Home > About Us

> Terms and Condition

> Privacy policy

> Contact Us

Our Teams

Loading...

Loading...

For Advertisement

Mobile No.: +977 9855034935

Mobile No.: +977 9855034935

marketing@krishisanjal.com

Copyright © 2025 KRISHI SANJAL

|

Developed by Tachyonwave