
नेपालगञ्ज, वैशाख १२ । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएको भन्दै बाँके जिल्लाको एक डेरी उद्योगमा उत्पादन तथा बिक्री वितरण रोक्का गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले वैशाख १० गते नेपालगञ्ज उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, बाँके तथा सञ्चारमाध्यमको संयुक्त टोलीमार्फत अनुगमन गरेको थियो। सो क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१२, बी.पी. चोकस्थित कान्हा डेरी एन्ड जनरल स्टोर मा गम्भीर स्वच्छता सम्बन्धी कमजोरीहरू भेटिएका हुन्।
अनुगमनका क्रममा डेरीमा प्रयोग हुने फ्रिज तथा भाँडाकुँडा फोहोर अवस्थामा रहेको, फ्रिजभित्र मरेका किरा भेटिएको, भुइँ तथा भित्ताको सरसफाइ कमजोर रहेको तथा दूध र दही उत्पादन तथा बिक्री हुने स्थान असन्तोषजनक अवस्थामा रहेको पाइएको जनाइएको छ।
त्यसैगरी, म्याद गुज्रिएका जुसजेली ११ थान, अज्वाइन पफ १ थान, नेस्काफे आइस्ड लाटे १ थान र करिब ३ केजी फोहोर अवस्थामा राखिएको पनिर फेला परेको थियो। ती सामग्रीहरू जफत गरी नष्ट गरिएको छ, जसको अनुमानित मूल्य ३,७४० रुपैयाँ रहेको कार्यालयले जनाएको छ।
कार्यालयले सम्बन्धित व्यवसायीलाई देखिएका कमजोरीहरू ७ दिनभित्र सुधार गरी प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ। साथै, अर्को आदेश नभएसम्मका लागि उक्त डेरीको उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा रोक्का गरिएको छ।
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उक्त कारबाही गरिएको हो।
