
काठमाडौँ, चैत २८ । सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको मूल्य क्रमशः प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ र २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको हो। यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि लागू हुनेछ। १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विन्टल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा र चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय १ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको थियो।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा उत्पादन वृद्धि प्रोत्साहन गर्न हरेक वर्ष न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।
