
काठमाडौँ, चैत ६ । मोरङमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा H5N1) संक्रमण पुष्टि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका अनुसार मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुरामा बर्ड फ्लु रोग देखिएको हो।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा चैत ४ गते हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (H5N1) पुष्टि भएपछि सम्बन्धित क्षेत्रमा सतर्कता बढाइएको शुक्रबार प्रेस विज्ञप्ति मार्फत विभागले जनाएको छ।
सरकारले बर्ड फ्लु नियन्त्रण नियमावली २०६८ अनुसार प्रभावित क्षेत्र घोषणा गर्दै आकस्मिक रोग अन्वेषण टोली परिचालन गरेको छ। चार किल्ला तोकी रोग प्रभावित क्षेत्र निर्धारण गरिएको र नियन्त्रणका कामहरू तीव्र रूपमा अघि बढाइएको जनाइएको छ।
संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका कुखुरा तथा पक्षीजन्य सामग्री नष्ट गर्नुका साथै निसंक्रमण (डिसइन्फेक्सन) कार्य समेत भइरहेको छ। संघ, प्रदेश र स्थानीय तहका निकायहरूलाई समेत सक्रिय रूपमा परिचालन गरिएको छ।
पशु सेवा विभागले रोग फैलिन नदिन आम किसान, व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। फार्ममा अनावश्यक आवतजावत रोक्ने, निसंक्रमणको व्यवस्था गर्ने, अन्य जनावरको प्रवेश रोक्ने, मरेका पक्षी सुरक्षित रूपमा व्यवस्थापन गर्ने लगायतका उपायहरू अपनाउन अनुरोध गरिएको छ।
विभागले जारी गरेको ११ बुदे अपिल:
१. पक्षी
फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउनु हुन।
२. फार्म परिसर भित्र प्रवेश गर्नुपर्ने भएमा
निसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गर्नु हुन।
३. एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा
नजानु हुन।
४. प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेट
पुनः प्रयोग नगर्नु हुन।
५. फार्म/खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रूपमा
चुना लगाइएको निसंक्रमक औषधि राखिएको फुटबाथ प्रयोग गर्नु हुन र प्रत्येक पटक
प्रवेश गर्दा फुटबाथमा टेक्दै वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्नु हुन।
६. खोर भित्र प्रवेश गर्दा जुत्ता र एप्रोनको
प्रयोग गर्नु हुन।
७. खोर भित्र र बाहिर दैनिक रूपमा निसंक्रमण
गर्नु हुन।
८. फार्म परिसरभित्र कुकुर, बिरालो, मुसा लगायतका
अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्नु हुन।
९. मरेका पक्षीलाई व्यवस्थित छिटो सुरक्षित
तरिकाले गाड्नु हुन।
१०. पक्षी फार्ममा काम गर्ने व्यक्तिहरूले
व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्ने, नियमित हात धुने र स्वास्थ्य
सम्बन्धी कुनै समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु
हुन।
११. पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार
गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नु/गराउनु हुन।
