
खोरेत गाई, भैँसी, भेडा, बाख्रा र बंगुर लगायत खुरफट्टा जनावरहरुमा लाग्ने संक्रामक रोग हो। यो रोग Apthovirus नामक विषाणुको संक्रमणबाट लाग्ने गर्दछ।
रोग लाग्ने कारण र सर्ने माध्यम
मुख्य गरी हिउँदमा देखिने यस रोग समयमै खोरेत विरुद्ध भ्याक्सिन नलगाईएका गाईवस्तुहरुमा देखिने गर्दछ। कमजोर जैविक सुरक्षा नै यस रोगको कारक मानिन्छ।
गोठमा बाह्य मानिसहरुको खुला तथा अनियन्त्रित आवागमन, अन्य संक्रमित जनावरहरुसँगको संलग्नता, रोगी पशुहरुको र्याल तथा घाऊसँग लसपस भएका भाँडाकुँडा, घाँस-पराल, पानी, गोठका कामदारको कपडा, जुत्ता, चप्पल र हावाको माध्यमबाट यो रोग फैलिने गर्दछ।
रोगका लक्षणहरु
खोरेत (Foot and Mouth Disease, FMD ) भनेर विश्वभर प्रचलित छ। नाम अनुरुप रोगका मुख्य लक्षणहरु पनि मुख र खुट्टामा देखिन्छन् । रोगका लक्षणहरु क्रमिक रुपमा देखा पर्दछन्। सर्वप्रथम विषाणु को संक्रमण भैसकेपछि गाइभैँसीको दूध उत्पादन ५० देखि ७० प्तिशतसम्म घट्न सक्छ। शरिरको तापक्रम १०४ देखि १०६ ℉ सम्म बढ्दछ र घाँसपानी नखाने, झोक्राएर बस्ने जस्ता प्राथमिक लक्षणहरु देखिन्छन्।
यसलगत्तै खुरका बिचमा फोकाहरू देखिने, खुर वरिपरि सुन्निएर पशुले बारम्बार खुट्टा उचालिरहने,मुख भित्र पनि जिब्रो वरिपरि फोका उठ्ने अनि छाला जाने समस्या देखिन्छ। यसैकारण प जिब्रो बाहिर निकलिरहने, दाँत किट्ने,खुट्टा झट्कार्ने र निरन्तर र्याल र फिँज चुहाईरहन्छ।
लगभग दुई तीन दिनपछि मुख भित्रका र खुरका बिचमा फोका फुटेर घाउमा परिणत हुन्छन। निरन्तर सफा गर्न नसकेमा घाउ पाक्ने, किरा बस्ने तथा खुट्टा टेक्न नसकी बसिरहने जस्ता सम्स्या पनि मुख्यतः गर्मी याममा देखिन्छ |
असरहरु
खोरेतबाट संक्रमित पशुहरुमा विभिन्न्न किसिमका नकारात्मक असरहरु देखिन्छन् । दुहुना पशुहरुमा तुरुन्तै थुनेलोको समस्या देखिनुको साथै आउँदा बेतहरु सम्म पनि दूध उत्पदनमा ह्रास आउन सक्छ । ब्याउने पशुहरुमा गर्भ तुहाउने र ससाना जनावरहरुको मुटुको मांशपेशीमा असर पर्न गई मुटुले काम गर्न नसक्दा मृत्यु समेत हुने सम्भावना हुन्छ ।
रोगको उपचार
रोग लागिसकेपछि यसलाई नियन्त्रणमा ल्याउने मुख्य अस्त्र भनेकै जैविक सुरक्षा अपनाउनु हो। संक्रमित पशुहरुलाई अन्य स्वस्थ पशुहरुबाट छुट्याएर सकेसम्म अलि टाढा राख्नुपर्छ र तिनलाई खुवाउनका साथै अन्य हेरचाहमा पनि छुट्टै भाँडाकुडाँ प्रयोग गर्ने र कामदार पनि छुट्टै खटाउनु पर्छ । त्यसैगरी गोठमा काम गर्ने बाहेक अरु कसैलाई पनि गोठ भित्र छिर्न दिनुहुन्न । गोठमा सबैतिर चुन छरेर गोठलाई ओभानो राख्नुपर्छ ।
विषाणु सार्न र लागेको घाउमा किरा पार्नुमा माँखा र भुसुनाहरुको मुख्य भुमिका रहने हुनाले यिनीहरुलाई आउन नदिन गोठमा फिनेल पानी छर्नुका साथै अन्य प्रतिरोधात्मक स्प्रेहरु पनि प्रयोग गर्न सकिन्छ । गोठ सफा गरिसकेपछि एक प्रतिशत साइट्रिक एसिड (Citric Acid) सबैतिर छर्किनाले गोठमा विषाणुको मात्रा घटाउन र विषाणु सर्न नदिन पनि मद्धत गर्छ । संक्रमित पशुहरुलाई फिटकिरी पानी अथवा १ ग्राम पोटासियम परम्यागनेट (KMNO4) १० लिटर पानीमा मिसाएर सफा टालो लिई मुख सफा गर्नुपर्छ। खुट्टाको घाउमा पनि दिनहुँ यसैगरी सफा गर्न सकिएमा घाउ चाँडो निको हुन्छ | एकपटक बनिसकेपछि घाउ निको हुन ८ देखि १० दिनसम्म लाग्छ। यस अन्तरालमा पशुको स्वास्थ्य, आहारा र उपचारमा विशेष ध्यान दिनुपर्छ।
बिरामी पशु कमजोर भएको बेलामा मुखमा घाउ भएको कारण, खस्रो खानेकुरा केहि खान नसक्ने हुँदा भेली र चोकर अनि साथसाथै खनिज र भिटामिनयुक्त तत्व पानीमा मिसाएर सन्तुलित मात्रामा दिनाले आवश्यक शक्ति प्रदान गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। त्यसैगरी, यो रोग लागिसकेपछि निरन्तर ज्वरो आउन सक्ने हुनाले, ज्वरो आएको खण्डमा ज्वरो घटाउने औषधिहरु प्रयोग गरिराख्नुपर्छ। अत्याधिक शारिरिक तापक्रम बढेको बेला जुटको बोरा पानीले भिजाएर शरिरमाथि राख्न सकिन्छ। यसो गर्नाले बढ्दो तापक्रमलाई नियन्त्रण गर्न सहयोग पुग्छ। पशुको अवस्था जटिल भएको महशुस भएमा तुरुन्तै नजिकका पशु स्वास्थ्यकर्मिहरुको सल्लाह लिनुपर्छ।
रोकथाम
सर्वप्रथम, रोग लाग्न नदिनु नै रोकथामको प्रमुख बिन्दु हो। यसका लागि समयानुकुल खोरेत विरुद्धको भ्याक्सिन लगाउनु नै मुख्य उपाय हो। यस भ्याक्सिन वार्षिक दुईपटकः हिउँद र वर्खा याम छुट्टिने समय अगावै सचेत भएर आ-आफ्ना वडा तथा नगरपालिकामा सम्पर्क गरी सम्पूर्ण खुरफट्टा पशुहरुमा लगाईहाल्नुपर्छ। यति मात्र नभई गोठको सरसफाई र जैविक सुरक्षाका विधिहरुबारे रोग लागेको समयमा मात्र नभई सधैं सचेत रहनुपर्दछ।
डा. सबिना पोखरेल, B.V.Sc. and A.H., M.V.Sc. (Medicine), पशु विकास अधिकृत, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं ।
