
रौतहट, माघ २ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रीड) ले निर्माण गरेका कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनहरूको शुक्रबार उद्घाटन गर्दै सम्बन्धित स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
किसानहरूका कृषि तथा पशुपन्छीसम्बन्धी समस्याको समाधान तथा सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएका यी सेवा केन्द्रहरू अपाङ्गमैत्री तथा महिलामैत्री संरचनासहित तयार गरिएका छन्।
उक्त भवनहरू कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्यता तथा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिसालको विशेष आतिथ्यतामा क्रमशः श्याम प्रसाद यादव, गढीमाई नगरपालिकाका नगरप्रमुख र शंभु साह, गौर नगरपालिकाका नगरप्रमुखलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले सेवा केन्द्रहरूको प्रभावकारी तथा दीर्घकालीन उपयोग सुनिश्चित गर्नु स्थानीय तहको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै किसानहरूलाई विशिष्टीकृत सेवा सहज रूपमा उपलब्ध गराउनु नगरपालिकाको दायित्व भएको बताउनुभयो। साथै उहाँले स्थानीय सरकारलाई बलियो र स्रोत–साधन सम्पन्न बनाउन संघीय सरकारको निरन्तर साथ, सहयोग र प्रयास रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
