
काठमाडौँ, माघ २ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको न्यूनस्तरको ‘रोयल आसाम’ चिया बजारबाट तत्काल फिर्ता गर्न कडा आदेश दिएको छ ।
चिया नेपाल सरकारले तोकेको गुणस्तर मापदण्डअनुसार नपुगेको ठहर गर्दै सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण चियामा उद्धृत तत्वको मात्रा तोकिएको मापदण्डअनुसार नपाइएको पुष्टि भएको विभागले जनाएको छ।
विभागका अनुसार चिया (५०० ग्राम), ब्याच नम्बर WC.330P, उत्पादन मिति २०८२/०६/२३ तथा उपभोग्य अवधि १८ महिना रहेको उक्त उत्पादन मोडर्न टी इन्डस्ट्रिज प्रा.लि., भद्रपुर, झापाबाट उत्पादित हो। गुणस्तरहीन ठहरिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न तथा दफा ३८(४) अनुसार बिक्री–वितरण पूर्ण रूपमा रोक्न निर्देशन दिइएको छ ।
