
काठमाडौँ, माघ २ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा म्याङ्गो ड्रीङ्क नामक पेय पदार्थमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नपुगेको पाइएपछि सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी गरेको छ ।
विभागले बुधबार जारी गरेको सूचना अनुसार म्याङ्गो ड्रीङ्क पेय पदार्थ (२०० मिलिलिटर) को ब्याच नम्बर NMR 107M1 मा कुल घुलनशील ठोस पदार्थको मात्रा तोकिएको मापदण्डभन्दा कम भेटिएको हो। यस कारण खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट फिर्ता गर्न तथा दफा ३८(४) बमोजिम बिक्री–वितरण नगर्न/नगराउन निर्देशन दिइएको छ।
फिर्ता गर्न आदेश दिइएको उक्त उत्पादन हाइजेन रुह्श ब्रान्डअन्तर्गत हाइजेन प्याक्स नेपाल प्रा.लि., कमल गाउँपालिका, झापा द्वारा उत्पादित हो। सो उत्पादनको उत्पादन मिति २०२५/०९/२७ र उपभोग्य मिति १२ महिना रहेको विभागले जनाएको छ।
विभागले उपभोक्तालाई उक्त ब्याचको उत्पादन प्रयोग नगर्न अनुरोध गर्दै सम्बन्धित उद्योग तथा विक्रेतालाई आदेशको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
