
बर्दिया, पौष २१। कृषि मन्त्री डा. मदन प्रसाद परियारले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा पौष १९ र २० गते कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका विभिन्न निकाय, कार्यक्रम तथा अनुसन्धान केन्द्रहरूको अनुगमन तथा किसानहरूसँग साक्षात्कार गर्नुभएको छ । सचिव डा. राजेन्द्र प्रसाद मिश्र सहभागी रहनुभएको थियो।
अनुगमनका क्रममा कपास विकास समिति, प्रधान कार्यालय खजुरा, कल्पविक्ष मत्स्य सहकारी संस्था बढैयाताल, कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश, कोशेबाली अनुसन्धान कार्यक्रम, बि.बि.एस. राइस मिल, दुग्ध विकास संस्थान कोहलपुर र एकीकृत जाँच चौकी नेपालगञ्जलगायत निकायहरूको अवलोकन गरिएको थियो।
साथै, प्रदेश कृषि मन्त्रालय अन्तर्गतका पदाधिकारी, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि तथा किसानहरूसँग छलफल र अन्तर्क्रिया गरिएको छ।
मन्त्री परियारले हाल निष्क्रिय अवस्थामा रहेको कपास विकास समिति तथा जीर्ण हुँदै गएका संरचनालाई पुनः चलायमान बनाउन तत्कालीन र दीर्घकालीन सुधार रणनीति पेश गर्न निर्देशन दिनुभएको छ। कल्पविक्ष मत्स्य सहकारीका किसानहरूसँगको छलफलमा कृषि विद्युत मिटर र ट्रान्सफर्मर जडानका विषय उठेपछि मन्त्रालयले कृषि मिटरका लागि पहल अगाडि बढाइसकेको र ट्रान्सफर्मर जडानमा आधा खर्च स्थानीय सहकारीले व्यहोर्ने गरी प्रक्रिया अघि बढाइने जनाएको छ।
कृषि अनुसन्धान निर्देशनालय तथा कोशेबाली अनुसन्धान कार्यक्रमसँगको छलफलमा जनशक्ति अभावलगायत समस्या समाधानका लागि नार्कको विनियम स्वीकृतिको अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा सञ्चालित बि.बि.एस. राइस मिललाई कर्णाली प्रदेशका पहाडी भूगोल केन्द्रित गरी विस्तार गर्ने निर्णय गरिएको छ।
दुग्ध विकास संस्थान, बाँकेमा उचित बजार व्यवस्थापन र किसानको मागअनुसार पाउडर प्लान्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ। संघीय निकाय अन्तर्गतका एकीकृत जाँच चौकीका कार्यालयहरूसँगको अवलोकनमा प्लान्ट क्वारेन्टाइन कार्यालयको फ्युमिगेसन च्याम्बर संरचना स्थानान्तरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
