
चितवन, साउन १९ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर अन्तर्गत सञ्चालित व्यवसायिक इन्क्युबेसन कार्यक्रममा देशभरका विभिन्न क्याम्पसहरूबाट ७ वटा नवप्रवर्तनशील विद्यार्थी व्यवसाय समूह छनोट भएका छन्। यी व्यवसायहरूले स्थानीय स्रोत तथा कृषि उपजमा आधारित नवीनतम उत्पादनहरूको विकास आरम्भ गरिसकेका छन्।
छनोटमा परेका व्यवसायहरूमध्ये हिमालयन इलिक्सिर (Himalayan Elixir) ले मह तथा महजन्य उत्पादनको प्रवर्द्धन गरिरहेको छ। यो व्यवसाय कृषि संकाय, रामपुरका स्नातकोत्तर तहका विद्यार्थी र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरनचौरका कृषि स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीहरूले संयुक्त रूपमा सञ्चालन गरेका हुन्।
त्यस्तै, रोल्पाली पोटाटो क्रिप्स नामक व्यवसाय प्राकृतिक स्रोत व्यवस्थापन कलेज, रोल्पाका बीएस्सी कृषि छैठौं सेमेस्टरका विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित छ, जसले स्थानीय आलुको क्रिप्स उत्पादन गरिरहेको छ।
पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुरका बी भी एस्सी एण्ड एच (BVSc & AH) पहिलो सेमेस्टरका विद्यार्थीहरूद्वारा सञ्चालित थ्री डब्ल्यु भेन्चर (3W Venture) ले टी कोस्टर, योगा म्याट्स, र टेबल डेकोरेटिभ्स जस्ता सजावटी सामग्री उत्पादन गरिरहेको छ।
गुणसार नामक व्यवसाय कृषि संकाय, रामपुरका विद्यार्थीहरूको समूहले सञ्चालन गरिरहेको हो, जसले परम्परागत नेपाली गुँद्रुक र मस्यौरा उत्पादन तथा ब्रान्डिङमा केन्द्रित प्रयास गरिरहेको छ। समूहका संयोजक अमृत न्यौपानेका अनुसार उनीहरूको लक्ष्य नेपाली परिकारलाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउने रहेको छ।
सिन्धुलीस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरूले सञ्चालन गरेको ग्रीन डाइनिङ (Green Dining) ले सुपारीको पातबाट प्लेट, चम्चा लगायत वातावरणमैत्री भाँडाकुँडा उत्पादन गर्दै व्यवसायको सुरुवात गरेको छ।
सुगन्धिका (Bio Guard) नामक अर्को व्यवसायले लामखुट्टे भगाउने अगरबत्ती तथा स्प्रे उत्पादन गरिरहेको छ। यो कृषि संकाय, रामपुरका विद्यार्थीहरूको समूहले सञ्चालन गरेको हो। यो परियोजना अन्तर्राष्ट्रिय स्तरमा समेत प्रस्तुत भइसकेको छ। हालै बैंकक, थाइल्यान्डमा सम्पन्न ‘एशिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलपमेन्ट २०२५’ मा विद्यार्थी पुष्कर पन्तले यस स्टार्टअपको प्रदर्शन गरेका थिए। उत्पादनको प्रारम्भिक नमुना (प्रोटोटाइप) विश्वविद्यालयको कृषि वनस्पति तथा संरक्षण विभागको प्रयोगशालामा उपप्राध्यापक सरोज सापकोटाको निगरानीमा निर्माण गरिएको थियो।
कृषि संकाय अन्तर्गत बागबानी विज्ञान (हर्टिकल्चर) विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको ‘ग्राफ्ट नेपाल’ व्यवसायले टमाटर, तरबूजा र रंगीन खुर्सानीका ग्राफ्टेड बिरुवा उत्पादन गरिरहेको छ। यस व्यवसायलाई कृषि संकायका डीन प्रा. डा. अर्जुन कुमार श्रेष्ठको समेत निरन्तर सुझाव, सल्लाह र मार्गदर्शन प्राप्त हुँदै आएको छ।
इन्क्युबेसन कार्यक्रमबारे बोल्दै डीन श्रेष्ठले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानलाई व्यवहारिक अनुभवमा रूपान्तरण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीहरूमा आत्मनिर्भरता, प्रयोगात्मक शिक्षा र उद्यमशीलताको भावना विकास गरिरहेको छ।
इन्क्युबेसन कार्यक्रमको उद्देश्य नवप्रवर्तनशील सोच भएका विद्यार्थीहरूलाई प्रारम्भिक लगानी, व्यावसायिक क्षमता विकास, तथा संरचित मार्गदर्शन प्रदान गर्दै उद्यमशीलतामा प्रोत्साहन गर्नु रहेको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा. डा. निराजन भट्टराईले बताउनुभयो।
छनोटमा परेका समूहहरूले व्यवसाय सुरुवातका लागि प्रारम्भिक लगानी स्वरूप सहयोग प्राप्त गरिसकेका छन्, जुन निश्चित समयपछि फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
बुटक्याम्पको अन्तिम चरणमा छनोट भएका सातवटै समूहलाई प्रति समूह अधिकतम रु ५ लाखसम्मको सहयोग प्रदान गरिएको अनुसन्धान तथा प्रसार निर्देशनालयका उप-निर्देशक डा. उज्जल तिवारीले जानकारी दिनुभयो।
